नियम २५क
स्प्रिट तथा इथानोललाई अन्य प्रयोगमा ल्याउने

(१) इजाजतपत्रवालाले स्प्रिटलाई अन्य प्रयोगमा ल्याउने उद्देश्यले डिनेचर्ड स्प्रिट बनाउँदा सम्बन्धित आन्तरिक राजश्व कार्यालयबाट स्वीकृति लिई रेक्टिफाइड वा हेड्स स्प्रिटमा पाइरिडिन वा कोचिसिन वा मिथायल अल्कोहल आयतनको हिसाबबाट कम्तिमा ०.०२ प्रतिशत मिश्रण गरी डिनेचर्ड स्प्रिट बनाउन पर्नेछ । यस्तो मिश्रण गर्दा आवश्यकता अनुसार रंगिन गर्नुपर्ने गरी विभागले इजाजतपत्रवालालाई निर्देशन दिन सक्नेछ । आन्तरिक राजश्व कार्यालयले रेक्टिफाइड स्प्रिटबाट डिनेचर्ड स्प्रिट बनाउने स्वीकृति दिँदा रेक्टिफाइड स्प्रिटबाट आउने अन्तशुल्क नघटने गरी मात्र स्वीकृति दिनु पर्नेछ ।
(२) इजाजतपत्रवालाले पेट्रोलमा समिश्रण गर्ने प्रयोजनको लागि उत्पादन गरेको एनहाइड्रस इथानोल नेपाल आयल निगम वा नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायलाई मात्र बिक्रि गर्नु पर्नेछ । यस्तो वस्तु बिक्रिको लागि प्रतिष्ठानबाट निष्काशन गर्दा आन्तरिक राजश्व कार्यालयबाट स्वीकृति लिनु पर्नेछ । आन्तरिक राजश्व कार्यालयले यस्तो स्वीकृति दिँदा त्यस्तो वस्तुमा कम्तिमा दुई प्रतिशत पेट्रोल मिश्रण गर्नुपर्ने गरी निष्काशन गर्न स्वीकृति दिनु पर्नेछ ।
३) मोलासेस, रेक्टिफाईड स्प्रिट, इ.एन.ए, माल्ट स्प्रिट लगायतका मदिराका कच्चा पदार्थ तथा डिनेचर्ड स्प्रिटको पैठारी, उत्पादन तथा बिक्री वितरणका लागि विभागले प्रक्रिया तोकी नियन्त्रण गर्न सक्नेछ ।